सुर्खेत। कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गरिखाने शिक्षा प्रणाली आवश्यक रहेको बताएका छन्। सैद्धान्तिक ज्ञानमा केन्द्रित पाठ्यक्रमले गरिखाने शिक्षा प्रणालीलाई बलियो बनाउन नसकेको टिप्पणी गरे। यसका लागि पढ्दै, सिक्दै, कमाउँदै गर्ने जीवनोपयोगी शिक्षा प्रणाली अवलम्बन गर्नुपर्ने बताए।
शनिवार काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड) द्वारा सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न तर्फ सरकारको ध्यान केन्द्रित भएको जानकारी दिए। यसका लागि सरकारको आगामी आर्थिक वर्षको बजेट प्राथमिकीकरण गरिएको बताए।
सामाजिक पुँजी निर्माणका लागि मानवीयताको आधारमा व्यवहार गर्न सोही अनुरूपको ज्ञान प्रदान गर्न आवश्यक रहेको बताए। पछिल्लो समय कर्णालीमा भइरहेको शिक्षक अभावको हुने समस्यालाई समाधान गर्न प्रदेश सरकार विभिन्न विश्वविद्यालयहरूसँग साझेदार गर्न तयार रहेको प्रतिबद्धता जनाए।
साथै, शिक्षकहरूको पेसागत विकास, अनुभव आदान प्रदान तथा समसामयिक शैक्षिक विषयमा संवाद गर्ने उद्देश्यले एकदिने शिक्षक सम्मेलन आयोजना गरिएको कुसोडले जनाएको छ। सम्मेलनमा प्रमुख वक्ताहरूका मन्तव्य, कार्यशाला सत्रहरू तथा शिक्षकहरूले प्रस्तुत गर्ने अनुभव र अभ्यासका प्रस्तुतीकरणहरू रहने आयोजकको भनाइ छ।









