२०८२ चैत २९ , आइतबार

सुर्खेतको बिरेन्द्रनगरमा बोलेरोको ठक्करले एक जनाको मृत्यु,एक जना घाइते।



केशर वली/सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट नजिक बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् । बुधवार बिहान करिब १० बजेर ४५ मिनेटको समयमा गुमीबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०९४४ नम्बरको बोलेरो गाडीले मिनिट्रकबाट घाँस झारिरहेका दुई जनालाई ठक्कर दिएको हो ।

ठक्करबाट वीरेन्द्रनगर–११ धुलियाबिटका ३४ वर्षीय प्रेम बुढा गम्भीर घाइते भएका थिए । उनको पेट र टाउकोमा गहिरो चोट लागेपछि तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको भए पनि बिहान ११ बजेर १० मिनेटमा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए।

उनकाअनुसार उक्त घटनामा सोही ठाउँकी ३२ वर्षीया तिलकुमारी बुढा पनि घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बोलेरो गाडी चालक लेकवेशी नगरपालिका–६ बस्ने २१ वर्षीय यामलाल सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधबार