केशर वली/सुर्खेत: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेले आयोजना गरेको मसाल जुलुसका क्रममा प्रहरी निरीक्षकमाथि आक्रमण भएको छ।
नेकपा एमाले सुर्खेत जिल्ला कार्यालयको संयोजनमा पार्टी अध्यक्ष के.पी. शर्मा ओलीको पक्राउको विरोधमा सोमबार साँझ करिब ६ बजे एमाले पार्टी कार्यालयबाट मसाल जुलुस सुरु भई वीरेन्द्र चोकसम्म पुगेको थियो। जुलुस पुनः पार्टी कार्यालयतर्फ फर्किने क्रममा सुरक्षा व्यवस्थापनमा खटिएका नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन भट्टराईमाथि एक प्रदर्शनकारीले एक्कासि मुक्का प्रहार गरेका थिए।
उक्त आक्रमणबाट प्रहरी निरीक्षक भट्टराईको अगाडिको माथिल्लो दाँत भाँचिएको प्रहरीले जनाएको छ। घाइते प्रहरी निरीक्षक तथा प्रदर्शनकारी दुवैजनाको उपचारपछि घर फर्किएको जनाइएको छ। प्रहरीमाथि हातपात गर्ने व्यक्तिको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।









