केशर वली/सुर्खेत: सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं -३ मा भेरीगंगा नगरपालिका आयुर्बेद शाखा सुर्खेत र भेरीगंगा जेसीजले ‘जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन सेवा कार्यक्रम’ संञ्चालन गरेको छ।
आज जुन २१ विश्व योग दिवसको अवसरमा भेरीगंगा नगरपालिका आयुर्बेद शाखा र भेरीगंगा जेसीज सुर्खेतले भेरीगंगा नगरपालिका वडा नं -३ डुङ्गिखोलामा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन सेवा कार्यक्रम गरेको हो। कार्यक्रमका प्रमुख अतिथि भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल हुनुहुन्थियो । ६० वर्ष भन्दा माथिका ६५ जना जेष्ठ नागरिकलाई आयुर्वेदिक स्वास्थ्यवर्धक औषधि निःशुल्क वितरणका साथै उहाँहरुको सामान्य स्वास्थ्य परीक्षण जस्तै रगत जाँच, रक्तचाप (ब्लड प्रेसर) चेकिङ र उचाई तथा वजन परीक्षण गरियो । विशेषगरी आज अन्तर्राष्ट्रिय योग दिवस भएकाले भेरीगंगा योग पतञ्जली समितिका सदस्यले वर्तमान समयमा योग ध्यान को महत्त्वका सम्वन्धमा जेष्ठ नागरिकलाई बुझाउनु भयो । यो कार्यक्रममा लाग्ने आर्थिक सहयोग भेरीगंगा नगरपालिका आयुर्बेद शाखाले ब्यवस्थापन गरेको र प्राविधिक सहयोग भेरीगंग जेसीजले गरेको भेरीगंगा जेसीजका अध्यक्ष श्याम परियारले के.आर.के. टाईमसंघ बताए।

