२०८२ चैत ३० , सोमबार

कर्णाली समृद्धि महोत्सव–२०८२ वीरेन्द्रनगरमा जारी, चर्चित कलाकारहरूको प्रस्तुति भोलि



सुर्खेत — कर्णाली प्रदेशको सांस्कृतिक पहिचान संरक्षण, पर्यटन प्रवर्द्धन तथा कृषि–व्यापार विस्तार गर्ने उद्देश्यले “कर्णाली समृद्धि महोत्सव–२०८२” वीरेन्द्रनगर–१ स्थित रेडियो नेपाल परिसरमा आयोजना गरिएको छ। चैत ११ गतेदेखि सुरु भएको महोत्सव चैत २२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

 

महोत्सवअन्तर्गत भोलि नेपाली सांगीतिक क्षेत्रका चर्चित गायकहरू सत्यराज आचार्य, स्वरूपराज आचार्य र टिका पुन को विशेष प्रस्तुति रहनेछ। त्यस्तै मोडल तथा कलाकार चिरञ्जीवी सापकोटा र मगर यामु को प्रस्तुति पनि दर्शकका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

 

विशेषगरी चैत १३ गते महोत्सवका मुख्य आकर्षक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्, जसले दर्शकलाई मनोरञ्जनसँगै कर्णालीको मौलिक संस्कृति नजिकबाट अनुभव गराउने विश्वास आयोजकको छ।

 

महोत्सव अवधिभर स्थानीय कला–संस्कृति झल्किने प्रस्तुति, पर्यटन प्रवर्द्धनका गतिविधि, कृषि तथा व्यापारिक स्टल, स्थानीय परिकार प्रदर्शनी लगायत विविध कार्यक्रम सञ्चालन भइरहेका छन्।

 

आयोजकले महोत्सवमार्फत कर्णाली प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै सबैलाई सहभागी भई महोत्सव सफल बनाउन आह्वान गरेको छ।

प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार