सुर्खेत । सुर्खेतको भेरीगंगामा प्रहरीले चोरी पैठारी गरी ल्याउँदै गरेको सालको काठ बरामद गरेको छ । आज बिहान २ः३० बजेको इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले भेरीगंगा नगरपालिका –४ बिरेडाँडामा शंका लागि चेकजाँच गर्दा डबल क्याब गाडीबाट अवैध सालका काठका कडिहरू फेला पारेको हो ।
भेरीगंगा नगरपालिका–१३ बस्ने ३० वर्षीय कमल प्रसाद शर्माले चलाएको कर्णाली प्रदेश ०२००१ च ०५२८ नम्बरको गाडीबाट साल प्रजातिका ४ फिटे २९ वटा काठका कडिहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
उनकाअनुसार ती काठहरूको नापजाँच गर्दा जम्मा ९.४७ क्युफिट रहेको छ । काठसहित अन्य दुई जनालाई समेत प्हरीले पक्राउ गरेको छ । पक्राउ पर्ने भेरीगंगा–१३ बस्ने वर्ष ३३ का सहबिर गैरापिपल र वर्ष ४५ का विकास परियार रहेका छन् । डीएसपी बुढथापाका अनुसार उनीहरूलाई प्रारम्भिक अनुसन्धानपछि आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय सुर्खेतमा पठाइएको छ ।









