केशर वली/सुर्खेत: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको स्थलगत निरीक्षण गरेका छन्। निर्धारित समयमै सम्पन्न हुनुपर्ने आयोजना विभिन्न कारणले ढिला सुस्ती भएपछि मन्त्री श्रेष्ठले आयोजनाको प्रगति र समस्या बुझ्न आज आयोजनास्थलको निरीक्षण गरेका हुन्।
मन्त्री श्रेष्ठले आज शुक्रबार दिउँसो १२ बजे भेरीगंगा नगरपालिका–११ चिप्ले पुगेर सुरुङ तथा आयोजनाको प्रगतिको स्थलगत अवलोकन गरेका थिए। त्यसपछि उनी भेरीगंगा नगरपालिका–५ बबई पुगेर आयोजनाको निर्माण व्यवसायी कम्पनीका आयोजना प्रमुख तथा प्राविधिक टोलीसँग निरन्तर छलफलमा जुटेका छन्।
आयोजनाको प्रगति बिवरण र आयोजना निर्माणमा देखिएका समस्या तथा निर्धारित समयभित्र काम सम्पन्न नहुनमा केन्द्रित भएर छलफल ६ घण्टासम्म जारी रहेको छ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना पछिल्लो समय निर्माणमा ढिलाइ हुँदा आम नागरिकमा अन्योलता भएको छ।

