सुर्खेत । सुर्खेतका ध्रुव थापामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा मनोनित भएसँगै आज पद तथा गोपनीयताको सपथ लिएका छन्।
थापाले आज पार्टी सभापति रवि लामिछाने को हातबाट प्रमाणपत्र ग्रहण गर्दै पद तथा जिम्मेवारी स्वीकार गरेका हुन्।
केन्द्रीय सदस्यको जिम्मेवारी पाएपछि थापाले यो पद लाई केवल जिम्मेवारीका रूपमा नभई जनविश्वास, उत्तरदायित्व र सेवाको अवसरका रूपमा लिएको बताएका छन्। उनले पार्टीको सिद्धान्त, विधि र मूल्य–मान्यताप्रति प्रतिबद्ध रहँदै सुशासन, पारदर्शिता, जवाफदेहिता र जनमुखी राजनीतिलाई सशक्त बनाउन इमानदारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता आफ्नो सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेका छन्।
थापाले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने पार्टी नेतृत्व, प्रतिनिधि, सहकर्मी, शुभेच्छुक तथा आम नागरिकप्रति आभार व्यक्त गर्दै जनविश्वासलाई परिणाममुखी काममार्फत प्रमाणित गर्ने समेत बताए।
चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ आज पार्टी कार्यालय घण्टीघरमा राखिएको थियो।

