२०८३ असार २ , मंगलबार

विश्व रक्तदान दिवसको अवसरमा: भेरीगंगा जेसिजले रक्तदान अभिमुखीकरण कार्यक्रम गरेको छ



केशर वली/सुर्खेत: सुर्खेतको भेरीगंगा नगरपालिकामा भेरीगंगा जेसीजले आज जुन १४ विश्व रक्तदान दिवसको अवसरमा रक्तदान जनचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

जुन १४ मा विश्वभर विश्व रक्तदान कार्यक्रम मनाइन्छ। अन्तराष्ट्रिय स्तरमा फैलिएको जेसीआई संस्था नेपालमा सन् १९६५ मा स्थापना भएको र त्यसै अनुरुप भेरीगंगा जेसिजको स्थापना २०१८ मा भएको  सोही संस्थाले आज जीवनदान नै रक्तदान भन्ने मूल अभिप्रायका साथ अभिमुखीकरण कार्यक्रम गरेको अध्यक्ष भेरीगंगा जेसीज श्याम परियारले के.आर.के. टाईम्ससँग बताए।

भेरीगंगा नगरपालिका वडा न. ११ जनता विद्या मन्दिरमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि लाल बहादुर खड्काले व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिएका थिए। साथै जनस्वास्थ्य अधिकृत अर्जुन चपाईले रक्तदान किन गर्ने? कसरी गर्ने ?यसका सबल पक्ष के के हुन्? भनेर कार्यक्रममा उपस्थितिलाई प्रशिक्षण दिएका थिए।उक्त कार्यक्रममा विभिन्न क्षेत्रका २० जनाभन्दा बढी युवाहरूको सहभागिता थियो।

भेरीगंगा जेसिजले व्यक्तिगत विकास क्षेत्र, सामुदायिक विकास क्षेत्र,व्यवसायिक विकास क्षेत्र र अन्तर्राष्ट्रिय विकास क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ।

 

प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार