२०८३ जेठ १२ , मंगलबार

भेरीगंगामा सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध कडा कदम: दोस्रो पटक ७ दिने सूचना जारी



केशर वली/ सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाले नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउन दोस्रो पटक सात दिने सार्वजनिक सूचना जारी गरेको छ।

 

 

नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन च.नं. ४१२, मिति २०८३/०१/१७ को सरकारी सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति अनुसार भेरीगंगा नगरपालिका को कार्यपालिका बैठक मिति २०८३/०१/२३ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णय नं. ३ बमोजिम उक्त सूचना जारी गरिएको छ। सूचनाअनुसार नगरपालिका क्षेत्रभित्र सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका स्थायी तथा अस्थायी संरचनाहरू हटाई सम्बन्धित जग्गा खाली गर्न निर्देशन दिइएको छ।नगरपालिकाले तोकिएको ७ दिनभित्र अतिक्रमण हटाई जग्गा खाली नगरेमा प्रचलित कानून बमोजिम नगरपालिकाले नै संरचना हटाउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित संरचना धनीबाट असुल उपर गर्ने जनाईएको छ ।

 

सूचनामा उल्लेखित अतिक्रमण भएका मुख्य क्षेत्रहरू वडा नं. १२ को नगरपालिका कार्यालयको पूर्वतर्फ तथा पशुपंक्षी विकास शाखाको पश्चिमतर्फ रहेका संरचनाहरू, वडा नं. ११ को रामघाटस्थित औद्योगिक ग्राम क्षेत्रमा बनेका संरचनाहरू र वडा नं. १२ कै नगरपालिका भवनदेखि छिन्चु खोला पुलसम्म सरकारी सडक अतिक्रमण गरी बनाइएका स्थायी तथा अस्थायी संरचना खुलाएको छ।

 

नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणमा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै समयमै अतिक्रमण हटाउन सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।

 

प्रकाशित मिति : २०८३ वैशाख २३ गते बुधबार