२०८२ चैत ३० , सोमबार

गुर्भाकोटमा सातौँ चन्द्र स्मृति कप हुँदै 



सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिकामा सातौँ संस्करणको चन्द्र स्मृति कप–२०८३ आयोजना हुने भएको छ। “हाम्रो खेल, हाम्रो गौरव चन्द्र स्मृतिमा एकता र सम्मान” भन्ने मूल नारासहित स्वर्गीय चन्द्र बहादुर बुढाको सम्झनामा मेहेलकुना फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो।

मेहेलकुना फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता नयाँ वर्षको अवसरमा आगामी वैशाख १ गतेदेखि सुरु भई वैशाख ८ गतेसम्म सञ्चालन हुने जनाकारी दिएको हो। क्लब अध्यक्ष राजेन्द्र शर्माले प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास गर्नुका साथै युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने र आपसी एकता तथा सद्भाव प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताए।

प्रतियोगितामा करिब २० वटा टिमहरूको सहभागिता रहने अनुमान गरिएको छ भने विभागीय टिमहरूको समेत सहभागिता रहने उनको भनाइ छ । प्रतियोगितामा विजेता टोलीले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उनले प्रत्येक नगरपालिका र गाउँपालिकाबाट एक टिम मात्रै सहभागी हुन मिल्ने बताए। साथै प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने क्लबले जनाएको छ।

गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त बहादुर पुनले प्रतियोगिता सञ्चालनका लागि स्थानीय सहयोग तथा चन्दा संकलनमार्फत व्यवस्थापन गरिने जानकारी दिँदै कर्णाली प्रदेशमै यो स्मृति कप लोकप्रिय र प्रतिष्ठित बन्दै गएको बताए। उनले खेल क्षेत्रको विकासका लागि आवश्यक भौतिक पूर्वाधारको अझै कमी रहेको उल्लेख गर्दै सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए।

 

प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार