
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘कर्णाली समृद्धि महोत्सव २०८२’ आजदेखि सुरु भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा चैत ११ देखि २२ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।
वीरेन्द्रनगर नगरपालिका, १ स्थित रेडियो नेपाल परिसरमा सुरु भएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।कर्णालीको कला र संस्कृतिको प्रवर्द्धन गर्दै स्थानीय व्यवसाय चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो । प्रतिष्ठानका अध्यक्ष कवि गिरीले महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने बताए ।
उनका अनुसार महोत्सवमा राखिएका व्यापारिक स्टलमा स्थानीय उत्पादन, हस्तकला तथा उद्यमशील सामग्रीहरूको प्रदर्शन तथा बिक्री गरिनेछ । मेला अवधिभर गोठीगाडाबाट प्याराग्लाइडिङको व्यवस्था गरिएको मूल आयोजक समिती संयोजक हरि बिष्टले जानकारी दिए ।
उनका अनुसार यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने विश्वास गरिएको छ ।महोत्सवले कर्णालीको पर्यटन, कला, संस्कृति र स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।









